पिसिआर परीक्षणमा बढी पैसा असुल्ने ल्याबलाई २४ घन्टे चेतावनी

Oknjo


बेनी 

असोज १४


पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा तोकिएको भन्दा बढी शूल्क असुल्ने प्रयोगशालालाई २४ घन्टाभित्र शूल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।



मन्त्रालयस्तरीय इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) ले गरेको निर्णय सुनाउँदै बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् । तोकिएको समयभित्र शूल्क समायोजन नगरे प्रयोगशाला परीक्षणको स्वीकृति खारेज गरिने निर्णय भएको गौतमको भनाइ थियो ।


गौतमका अनुसार गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनअनुसार आठवटा ल्याबले बढी शुल्क लिएर परीक्षण गरिरहेको पाइएको छ । “बढी शुल्क लिएका प्रयोगशालालाई एकपटकका लागि चेतावनी दिने र २४ घन्टाभित्र तोकिएको शूल्क समायोजन नगरे प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको छ,” प्रवक्ता गौतमले भने ।


बढी शुल्क लिनेमा ह्याम्स अस्पताल, डिकोड ल्याब, इन्ट्राप्रिड डायग्नोस्टिक, स्टार अस्पताल, नेपाल मेडिसिटी, बी एन्ड बी, सेन्ट्रल डायग्नोस्टिक, सौर्या हेल्थकेयर छन् । 


२८ भदौको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले देशभरका सबै प्रयोगशालाले पिसिआर परीक्षण गर्दा बढीमा दुई हजार शुल्क मात्र लिन पाउने तोकेको थियो ।


यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ५५९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ७७ हजार ८१७  पुगेको छ ।


नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या  ५६ हजार ४२८ पुगेको छ भने पछिल्लो २४ घन्टामा १०५७ जना डिस्चार्ज भएका छन् ।


إرسال تعليق